वीरगञ्ज, भदौ ५
वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाहरूको संरक्षण र व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने घोषणा गरेको छ। यसका लागि महानगरले विशेष सम्पदा व्यवस्थापन समिति गठन गरी काम प्रारम्भ गरेको हो।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित महानगरले सम्पदा व्यवस्थापन सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ। अब ३२ वटै वडामा रहेका सम्पूर्ण सम्पदाको अभिलेख संकलन गरी सूचिकृत गर्ने तयारी गरिएको छ। यसका लागि वडा कार्यालयमार्फत तथ्यांक संकलन कार्य सुरु हुने महानगरले जनाएको छ।
समितिको संयोजक महानगर प्रमुख राजेशमान सिंह रहनुभएको छ भने उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा अध्यक्ष जगत साह कानु, प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्यमा रहेका छन्। शाखा अधिकृत सुशीला देवकोटा सदस्य–सचिवको जिम्मेवारीमा नियुक्त भएकी छन्। समितिका सदस्यहरूलाई बिहीबार एक औपचारिक कार्यक्रमकाबीच पत्र हस्तान्तरण गरेर जिम्मेवारी प्रदान गरिएको हो।
महानगर प्रमुख सिंहका अनुसार धार्मिक सम्पदाहरूलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न अनिवार्य रूपमा सूचिकृत गरिनेछ। कतिपय सम्पदा व्यक्तिगत स्वार्थअनुसार मनपरी ढंगले सञ्चालन हुँदै आएको भन्दै सिंहले अब दान–चन्दा दुरुपयोग हुन नदिने गरी कडा प्रावधान लागू गरिने बताए। “हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो,” सिंहले भने, “भक्तजनले गरेको दान–चन्दा सोही सम्पदाको संरक्षण र संवर्द्धनमै खर्च हुने वातावरण बनाउनुपर्छ।”
समितिले आगामी दिनमा प्रत्येक वडामा रहेका सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र त्यसका आधारमा संरक्षण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू दीर्घकालीन रूपमा सुरक्षित हुने र वीरगञ्जको पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



