पर्साकी शबाना परविन बनिन् ७औँ तहकी वन अधिकृत, मुस्लिम समुदायकी छोरीहरूका लागि प्रेरणाको पात्र

Spread the love

वीरगञ्ज , असोज २२

पर्साको बिन्दवासिनी गाउँपालिका–३ की २३ वर्षीया शबाना परविन ७औँ तहको वन अधिकृतमा नियुक्त भएकी छन्। मधेश प्रदेशबाट गत असारमा सञ्चालित वन अधिकृतको परीक्षा उत्तीर्ण गरेपछि उनलाई मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयले ७औँ तहको वन अधिकृतमा नियुक्त गरेको हो।

नियुक्तिपछि शबाना हाल डिभिजन वन कार्यालय, सर्लाहीमा कार्यरत छन्।

शबानाका अनुसार, उनी नेपालकै पहिलो महिला मुस्लिम वन अधिकृत बनेकी छन्। साथै, आफ्नो वंशमा सरकारी सेवामा प्रवेश गर्ने पहिलो महिला र स्नातक तहको शिक्षा हासिल गर्ने पहिलो महिला पनि आफू नै भएको उनले बताएकी छन्।

सानैदेखि शिक्षा र करियरप्रति दृढ रहेकी शबानाले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी मुस्लिम समुदाय तथा सम्पूर्ण समाजका छोरीहरूलाई उच्च शिक्षा हासिल गर्न र आफ्ना सपना पूरा गर्न प्रेरित गर्ने उद्देश्य राखेकी छन्।

उनले विशेषगरी मुस्लिम समुदायका परिवारलाई छोरीहरूलाई उच्च शिक्षा दिन र उनीहरूको क्षमता तथा सपनामा विश्वास गर्न आग्रह गरेकी छन्।

शबाना भन्छिन्, “मेरो सफलताले समुदायका ती छोरीहरूलाई प्रेरणा मिलोस्, जसले अझै आफ्ना सपना खुलेर व्यक्त गर्न सकेका छैनन्।”

उनको यो उपलब्धिले शिक्षा, समान अवसर र महिला सशक्तीकरणको क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।

Scroll to Top