वीरगञ्ज, श्रावण २२
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। मातृत्व, शिशु स्वास्थ्य र स्तनपानको महत्वलाई उजागर गर्ने उद्देश्यले सप्ताहभर मनाइएको उक्त अभियानको समापन विशेष समारोहका साथ सम्पन्न गरियो।
समापन समारोहको प्रमुख आकर्षण बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित आमाहरूको सम्मान, र विद्यार्थीहरूद्वारा प्रस्तुत स्तनपानसम्बन्धी शैक्षिक कार्यक्रमहरू रहेका थिए। कार्यक्रममा आमाहरूलाई मातृत्वको सम्मानस्वरूप स्मृतिचिन्ह तथा तस्बिर प्रदान गरियो।
स्वास्थ्य शिक्षा सत्रमार्फत स्तनपानको महत्वबारे व्यापक जानकारी प्रस्तुत गरिँदा सहभागी आमाहरू र स्वास्थ्यकर्मीहरू लाभान्वित भएका थिए। विद्यार्थीद्वारा प्रस्तुत नाटक, कविता र प्रस्तुतीहरूले स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धिमा विशेष टेवा पुर्याएको थियो।
समारोहमा संस्थाका प्रबन्ध निर्देशक श्री सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन, अस्पताल निर्देशक डा. ईसरत जहान अन्सारी, नर्सिङ डाईरेक्टर, भाईस प्रिन्सिपल, सि.आई.ओ., म्याट्रोन, विभिन्न विभाग प्रमुखहरू, साथै प्रशासन, नर्सिङ र मार्केटिङ टिमका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले मातृत्व र स्तनपानप्रति सम्मान व्यक्त गर्दै स्वस्थ शिशुका लागि स्तनपान एक आधारभूत अधिकार हो भन्ने सन्देशलाई सशक्त बनाएको छ।



